डा. लेखनाथ काफ्ले

डा. लेखनाथ काफ्ले । राष्ट्रिय पिन्ग्तुंग बिज्ञान तथा प्रबिधि विश्वविद्यालय, पिङतुग, ताइवान

जब मेरा मित्र नवराज पोखरेलले आफ्नै बारेमा मलाई लेखि पठाउन भन्नु भयो मलाई बडो असमझमा परे, अलमल भयो। आफ्नो बारे आफैले के लेख्ने खोइ। यसो बुझ्दा म त आफ्नो बारेमा लेख्ने भएकै रहेनछु भन्ने लागेर लेख्ने जगार नै लागेन। फेरि त्यही समयमा कतै बैठक कतै विदेश तिरको यात्रा परि आयो। अब त केहि लेखौन भनेको लामो दौडधुप र थकानले ज्वरो नै आएर आराम गर्ने अबस्थामा पुगे।

म पनि अन्य नेपालीहरु जस्तै एक सामान्य परिवारमा गुल्मीको धरमपानी छाप भन्ने भन्ने ठाउमा जन्मेको नेपाली नागरिक हु। मेरा पिताको भारतको मेघालय, सिलांगमा गाईको गोठ रहेकोले म त्यस्तै ३-४ बर्षको हुँदा आमा र भाई सहित सिलांग नै पुग्यौं। मेरो प्राथमिक शिक्षा त्यहिको गोर्खा पाठशालामा भएको हो। बडो रमाइलो विद्यालय थियो। हाम्रा छिमिकीहरु स्थानीय खसिया समुदायका थिए। सारै माया गर्थे। मेरा पिताले गाईको गोठ बाहेक मिजोराम (भारतको अर्को प्रदेश) मा समेत दुहुना गाई र बाच्छीहरुका माग भएको बेला त्यस्को समेत कारोबार गर्नु हुन्थ्यो।

हाम्रो क्षेत्रमा अचानक जातीय दंगा फैलियो। स्थानीय बाहेक सबै बाहिरियाहरुको घर गोठमा आगो लगाउने, मान्छेलाई आक्रमण गर्ने भन्ने हल्ला चल्यो। हामीलाई हाम्रो छिमेकीको सहयोगमा दुइ ट्रक गाईहरु लिएर बाकि सबै छाडेर मिजोराम पुग्यौं। त्यहाँ यताउता गर्दै १ बर्ष बित्यो। अनि नेपाल फर्कियौं।

हाल हामी बुटवलमा बसोबास गर्दछौं। मलाई काठमाण्डौ भन्दा बुटवल नै रमाइलो, सफा र ब्यबस्थित सहर लाग्छ।

चितवनको रामपुर कृषि क्याम्पसबाट बीएस्सी गरें। कृषि मन्त्रालयमा अधिकृत भै करिब ५ बर्ष जागिर खाए पछि ताइवान आएको ताइवानमै मास्टर र पिएचडी सकेर पिएचडी पछिको अर्को थप पोस्ट डक्तरेट पनि सकेर यतै आफ्नै पढाई अनुसार कै जागिर पाए।

हाल म राष्ट्रिय पिन्ग्तुंग बिज्ञान तथा प्रबिधि विश्वविद्यालयमा प्राध्यापन र अनुसन्धानमा कार्यरत छु। हालसम्म केहि चर्चित बैज्ञानिक जर्नलहरुमा केहि बिशेष अनुसन्धानपत्रहरु प्रकाशन भएका छन्। ताइवान र अमेरिकामा दर्ता भएका १-१ वटा प्याटेन्टहरु पनि म र मेरो पिएचडी र पोस्ट डक्तरेटको सुपरभाइजरको संयुक्त छन्। एउटा ताइवानी कम्पनीले हाम्रो प्याटेन्ट प्रयोग गरेर २-३ किसिमका उत्पादनहरु बजारमा ल्याएको पनि छ।

प्राध्यापन र अनुसन्धान बाहेक मेरो रुची साहित्य तर्फ पनि छ। स्कूल र क्याम्पसमा साहित्य बाहेक चित्रकलामा पनि म राम्रै थिए तर धेरै भयो प्राक्टिस नगरेको। नेपालको बिध्यार्थी कालमा राजनीतिसंग पनि निकट नै रहेकोले हुन सक्छ, विश्व राजनीतिलाई नजिकबाट हेर्ने र बिश्लेषण गर्ने मेरो ईच्छा हुन्छ तर समय नै पुग्दैन।

एनआरएनको स्थापनाकाल देखि नै प्रत्यक्ष्य, अप्रत्यक्षरुपमा संलग्न छु । म एनआरएनको साहित्य कला समितिको र अन्य केहि समितिहरुमा रहे। मेरो योगदान समग्रमा बौद्धिक क्षेत्र र त्यसको बिकाससंग सम्बधिन्त छ। एनआरएन एउटा बौद्धिक र सामाजिक अन्तर्राष्ट्रिय केन्द्र बने राम्रो हुने थियो तर केहि बर्ष देखि यो ब्यापारीहरुको क्लब हुने हो कि भन्ने जस्तो आवाजहरु आएका छन। त्यसबाहेक म विश्व नेपाली साहित्य महासघंको महासचिवको दोश्रो कार्यकालमा छु। यो बिगत १ बर्ष अलि भने जस्तो समय दिन नपाएकोले अरु कसैलाई जिम्मेवारी दिन पाए हुन्थ्यो भन्ने लागेको छ अब।

अन्य प्रबासी नेपालीहरुले जस्तै नेपालमा आपद विपद पर्दा गरिने सहयोगहरु गरिनै राखिएको छ। कति गरियो, कहाँ कहाँ गरियो भन्ने सारै हेक्का भएन। गोरखा, दोलखा, सिन्धुपाल्चोक जिल्लाहरुमा १०००-१५०० अस्थायी घरहरु र ६०० केजी जति न्यानो लुगा मैले पहल गरेर ताइवानबाट नेपाल गएको मलाई सम्झना छ। त्यस बाहेक नेपालका त्रिभुवन विश्वविद्यालय र कृषि विश्वविद्यालयहरुको ताइवानका विश्वविद्यालयहरुसंग पारस्परिक सहयोगका लागि सम्झौताहरु गराउने काम पनि मेरा पहलमै भए। अहिले मेरो बिशेष पहलमा सत प्रतिशत छात्रवृत्तिमा नेपाली २६ जना बिद्ध्यार्थीहरु ताइवानको मेरै विश्वविद्यालयमा पढ्न आएका छन्।

झमक घिमिरेले पुरस्कारका लागि ताइवान आउदा वा भर्खर अमिर बम्जनले पुरस्कारका लागि ताइवान आउदा त्यसको संयोजन गर्ने काम मैले नै गर्ने मौका पाएको थिए। नेपालबाट प्राध्यापक र बैज्ञानिक, पत्रकार, खेलाडीहरु आई रहन्छन। त्यसमध्ये नेपालबाट प्राध्यापक र बैज्ञानिकहरु आउदा त्यसको संयोजन प्राय जसो मलाई नै गर्ने सन्जोग मिल्छ।

नेपाली साहित्यमा इ-पत्रिका “प्रयास” निकाल्ने र इ-पत्रिकालाई ब्यापक बनाउने पहिलो काम पनि म र मेरा सहकर्मी साथीहरुले ग-यौ। अहिले र सबै पत्रिकाहरु इ-भर्सन मै आउन थाले। मेरो सम्पादनमा ४ बर्षमा २८ अंक सम्म निकालेको जस्तो लाग्छ। हाल प्रयास पत्रिका बन्द जस्तै छ । विश्व नेपाली साहित्य महासघंको इ-पत्रिका मूलबाटोको सम्पादन गर्ने जिम्मा पनि मेरै छ। हामीहरु नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नु पर्छ र त्यसकालागि अनुबाद साहित्य मुख्य बाटो हो भन्नेमा बिश्वास गर्छौ र महासंघ त्यही बाटोमा छ। अब नेपाली साहित्य नेपालीहरुले मात्रै पढेर हुदैन अरुलाई पनि पढाउनु पर्छ भन्ने हाम्रो सोच हो।

साहित्यमा म कथा ज्यादा लेख्छु, कबिता कम नै छन् । केहि साहित्य, कला र दर्शन संग सम्बधित व्यक्तिहरुका व्यक्ति चित्र (जीवनी) हरु पनि मैले लेखेको छु तर त्यो काम सारै गार्हो र समय लाग्ने हो। निकै लामो अनुसन्धान गरेपछि मात्रै लेख्न सकिन्छ। मेरा कथाहरु अनलाइन पत्रिकाहरुमा आउछन। केहि कथाहरु आफैलाई चित्त बुझ्दा र धेरै पाठकले पनि मन पराएका पनि छन्।

नेपाली टोपी दिवसको रुपमा नेपाली टोपीको अन्तर्राष्ट्रिय दिवस मनाउने परिकल्पना मैले नै गरेको हु र त्यसमा नेपालबाट मित्रभाइ शंकर बन्जाडे समेत समेटिएर हामी दुइ जनाले त्यसलाई विश्वव्यापी बनायौं। अहिले त जस लिने नै पनि होडबाजी छ। अन्तर्राष्ट्रिय रुपमा हामीले पहिलोपटक गरेको भए पनि स्थानीय रुपमा क्यानाडामा मनाइने गरिएको थियो। त्यो दिवस नेपालीपनलाई जोगाउने एउटा सफल प्रयोग भएको छ र अब त त्यो स्वचालित अबस्थामा पुगी सक्यो। त्यस्तै नेपाली झण्डा दिवस पनि हुनुपर्छ भन्ने लागेको छ ।

अन्य कुराहरु त एक आम मानिसको दैनिकी जे हुन्छ मेरो पनि त्यै नै हुन्छ। त्यस्तो बिशेष र लेख्न भन्नै पर्ने केहि छ जस्तो लाग्दैन। समय मिलेमा खाना पकाउन सारै रमाइलो लाग्छ। तर त्यस्तो समय निकै कम मिल्दछ।

म एक आशावादी र जीवान र जगतलाई सकारात्मकरुपले हेर्ने मान्छे हुँ। उतार चडाव, खुशी पिडा, उज्यालो अध्यारो, राम्रा पक्ष नराम्रा पक्ष सबैको जीवनमा हुन्छ । म पनि त्यसबाट बाहेक हुने कुरै भएन। जीवन जसरी सोच्यो त्यसरी बाच्न सकिन्छ। दु:खी बिचारले दुख दिन्छ, सकारात्मक बिचारले जीवन सहज हुन्छ। हामीले विज्ञानमा भन्छौ बालि बिरुवाहरुको उत्पादकत्वमा ५०% भूमिका आनुबंशिक गुण हुन्छ भने बाँकि ५०% बाताबरण यानी की मलजल, हावापानी, गोडमेल आदिको। मान्छे पनि त्यस्तै त्यस्तै हो। आफ्नो आनुबंशिक गुणले हामीलाई ५०% सहयोग गरेको हुन्छ भने बाँकि त बातावरणले सहयोग गर्ने हो। मान्छेको बातावरण भनेको संगत, घर परिवार, आमा बा, नातेदार, छिमेकी, आफ्नो नेता र आफूले अंगालेको बिचार हो। आफूले जस्तो वातावरण छान्यो आफू त्यस्तै हुने हो। अरुलाई दोष दिनु गलत हो।

अन्त्यमा, हामी नेपालमा राजनीतिक नेताहरुलाई चोर, डाका, फटाहा, भ्रष्टाचारी आदि आदि भन्छौं। तर हामीले अर्को पाटो के बिर्सियौ भने आफू जस्तो छ आफ्नो नेता त्यस्तै हुने हो। नेता भनेको हामीबाटै छानेको एउटा हामी नै हो। चोरको नेता चोर हुन्छ, फटाहाको नेता फटाहा नै हुन्छ, भ्रष्टको नेता भ्रष्टाचारी नै हुन्छ। चोरको नेता साधु र साधुको नेता चोर कहिले हुदैन। नेता भनेका जनताका ऐना हुन्। जस्ता जनता उस्तै नेता, जस्ता नेता उस्तै जनता। हामीले आफैले गलत मान्छेलाई गलत स्वार्थका लागि नेता बनाउने अनि आफैले बेसरी गालि गर्ने गरे त त्यो गालि आफैलाई फर्कने हो।

यो पनि हामीले हाम्रो जीवनलाई कता लैजाने भन्ने बाताबरणको को महत्वपूर्ण पक्ष हो। मैले यो आफ्नो विचार र आफ्ना केहि पक्षहरुलाई लेखेको मात्रै हु। यसबाट सकारात्मक प्रभाव परेमा खुशी हुने नै छु, कुनै नकारात्मक प्रभाव परेमा क्षमा प्रार्थी छु ।
सबैको जय होस् । जय चौतारी।
जय नेपाली साहित्य !!

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*