सम्भावना बोकेको सगून

 

गोविन्द बञ्जाडे ,

जन्मभूमि छोडेर विदेशमा पुग्नेहरुकोलागि आर्थिक सम्पन्नता महत्वपूर्ण प्राथमिकता भित्र पर्छ । सवै प्रवासी नेपालीहरुलाई ग्लोबलरुपमा समेट्न सक्ने गरि कुनै पनि नेपालीले हालसम्म कुनै व्यवशाय सञ्चालनमा ल्याएको पाइएको छैन । हुन त विभिन्न देशमा नेपालीहरुका ठूला स्केलका व्यवशायहरु नभएका होइनन् । तर विश्वभरि छरिएर रहेका नेपालीहरुलाई आर्थिक सम्पन्नताको डोरीले एकै सूत्रमा बाध्न सक्ने प्रकृतिका व्यवशायहरु गरिएको देखिदैन ।

तर अमेरिकामा बस्ने नेपालीहरुले सन् २०१४ देखि शुरु गरेको सगूनले यो आवश्यकतालाई पुरा गर्न सक्छ कि भन्ने केहि आभास हुन थालेको छ । सामाजिक सञ्जालमा चुर्लुम्म डुबेको संसारलाई फरक सोच र फरक योजना सहितको सगूनले आफ्नो कित्तामा तान्न सक्यो भने भोलिको दिनमा प्रवासमा रहेका नेपाली भाषिहरुलाई आर्थिक सम्पन्नता प्रदान गर्ने काममा अहम् भूमिका निर्वाह गर्न सक्छ । आफ्ना वेभ साइट र प्रकाशनहरुमा सगूनले दावी गरेजस्तै सोसीयल मिडियाको ‘पायोनियर’ बन्न सकेमा यो सम्भव पनि छ ।

गत फेबु्रअरी ९ देखि विश्वभरका सर्वसाधारणहरुमा आफ्नो स्वामित्व शेयर विक्री खुल्ला गरेको सगूनले नेपाली ग्लोबल समुदायमा राम्रैसंग हलचल पैदा गर्न सफल भएको छ । यस आलेखमा यहि हलचल ल्याउन सकेको सगूनको हालको अवस्थाको बारेमा चर्चा गर्ने कोशिस गरिएको छ ।

सगूनको स्थापना र मिनी आइपीओे

सन् २०१४ देखि शुरु भएको सगून हाल आइटी स्टार्ट अप कम्पनीको अवस्थामा मात्र रहेको पाइन्छ । आइटी स्टार्ट अप कम्पनीहरु अन्य प्रकारका कम्पनीहरु भन्दा काम गर्ने तरिका, आम्दानीका श्रोत, लगानीकर्ताहरुलाई प्रतिफल प्रदान गर्ने तरिकाको हिसाबले फरक हुन्छन् । एउटा सामान्य रेष्टुरेण्ट वा ग्यास स्टेशन सञ्चालन गरेको अर्को महिना देखि प्रतिफल प्राप्त हुन शुरु गर्छ तर सगून जस्ता स्टार्ट अप कम्पनीहरु त्यसरी सञ्चालनमा आउने हुदैनन् । यस्ता कम्पनीहरुले अनुसन्धान, विकास र ड्रिमलाई मिसाएर बजारमा विल्कुल नयाँ प्रोडक्टहरु उत्पादन गर्दछन् । मोस्ट ट्यालेण्टेड माइण्ड प्रयोग गर्दछन् र आफ्नो ड्रिम प्रोडक्ट बजारमा ल्याउछन् । त्यो ड्रिम प्रोडक्टले मुनाफा प्रदान नगरुञ्जेल कम्पनी घाटामा नै सञ्चालन भइरहेको हुन्छ ।

यस्ता कम्पनीका ड्रिम प्रोजेक्टहरु सामाजिक संस्थाका संगठन बनाएर चलाए जसरी सञ्चालन नभई एकै व्यक्तिको योजना र विचारमा काम गरिरहेका हुन्छन् जसरीे फेसबुक वा माइक्रोसफ्ट जस्ता स्थापित ठूला आइटी कम्पनीहरुमा एक जना संस्थापकको मात्र नाम सुनिन्छ । हजारौँ मानिसहरुले महत्वपूर्ण योगदान प्रदान गरेका हुन्छन् पर्दा पछाडि तर प्रोजेक्टलाई ड्राइभर सीटमा बसेर हाक्ने काम एक जनाले नै गर्छन् ।

सगून पनि यहि प्रकृयाबाट अगाडि बढिरहेको देखिन्छ र उसले भन्दै आएको ड्रिम प्रोजेक्ट ‘सोसीयल स्मार्ट कार्ड’ लगायतका योजनाहरुलाई पुरा गर्न आवश्यक पर्ने पूजिं सङ्कलनको लागि कम्पनीको स्वामित्व शेयर विक्री खुल्ला गरेको छ ।

सगूनका संस्थापक गोविन्द गिरीका अनुसार आफ्ना इनोभेटिभ योजना र कार्यक्रमहरु लगायत अन्य आवश्यक आधारहरु पुरा गरेर  रेगुलेशन ए प्लस अन्तर्गत जब्स एक्ट २०१२ अनुसार अमेरिकी सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशन (एस्इसी) (https://www.sec.gov/cgi-bin/browse-edgar?company=sagoon&owner=exclude&action=getcompany) बाट विश्वभरीका सर्वसाधारणहरुलाई कम्पनीको स्वामित्व शेयर विक्री गर्ने स्विकृती सगूनले प्राप्त गरेको हो । उनका अनुसार पब्लिकबाट लगानी उठाउन पाउने यो ‘जब्स एक्ट २०१२’ लाई नै मिडिया र बोलिचालिको भाषामा ‘मिनी आइपीओ’ भनिएको हो जसरी अमेरिकामा ‘अफोर्डेबल केयर एक्ट २०१०’ लाइ ‘ओबामा केयर’ भनेर पनिचिनिन्छ ।

सगूनको हालको अवस्था

२०१७ मार्चको पहिलो हप्ता स्न्यापच्याटले आइटीको बजारमा खुबै खैलाबैला मच्चायो । सन् २०१० बाट शुरु भएको स्न्यापच्याटबाट २०१७ मा आइपुग्दा यसको बजार मूल्य २५ बिलियन डलर सम्म पुगेको समाचार आयो । यसको शुरुवाती अवस्थाका लगानीकर्ताले गरेको १५००० डलरको लगानीले ७० प्रतिशत शेयर विक्रीबाट २४ मिलियन डलर सम्म कमाउन सफल भएको खबर पनि बजारमा आए । स्टार्ट अप कम्पनी र यससंग सम्वन्धित यस्ता थुप्रै अपत्यारिता तर सत्य कथाहरु बजार भरि छन् ।

सगूनका सहसंस्थापक कविन्द्र सिटौलाका अनुसार सगूनले विगत अढाइ वर्षमा सांढे चार लाखको हाराहारीमा आफ्ना प्रयोगकर्ताहरु बनाएको छ । मिनी आइपीओ मार्फत हालसम्म २४०० भन्दा बढी लगानीकर्ताहरुबाट २.२ मिलियन अमेरिकी डलर भन्दा बढी लगानी उठीसकेको छ ।

सिटौला भन्छन् – ‘सगूनका योजना र कार्यक्रमहरु तथा यसका इनोभेटिभ आइडियामा विश्वास गरेर १०० वर्ष भन्दा लामो अवधिको अनुभव भएको अमेरिकाको Boustead Securities LLC (http://www.boustead1828.com )नामको ब्रोकर कम्पनीले सगूनको लागि लगानी उठाउने जिम्मा लिएको छ । यसै कारणले पनि सगूनले हालको शेयर विक्री कार्यक्रमलाई यहि मार्च २७, २०१७ देखि बन्द गर्दैछ । यसका भविष्यका योजनामा विश्वास गरेर नै यस्ता अनुभबी ब्रोकर कम्पनीहरु सगूनले जारी गरेको हालको शेयरको ८० प्रतिशत भन्दा बढि शेयर विक्री गराउने आँट गरेका छन् ।’

सगूनका पदाधिकारीहरुको भनाइलाई आधार मान्दा सगूनसंग विस्तारै श्रोतहरु जुटीरहेका छन् , यसका कार्यक्रमलाई विश्वास गर्न थालेका छन् । यदि यसो हो भने अब प्रभवबकारी प्रोडक्ट बजारमा ल्याउने बाहेक सगूनसंग अर्को विकल्प छैन ।

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*