अमेरिका, अमेरिका उफ अमेरिका – शैलेश पोखरेल

अमेरिका, यो शब्द कुनै अनलाइन अथवा प्रिन्ट मेडियामा देखेपछी जो कसैको मन टक्क अडिएर हैन के रैछ भनेर एक पटक हेर्न मन लाग्छ । मन पर्ने/नपर्ने अनलाइन या अन्य मेडिया जे भए पनि एक चोटि क्लिक गरेर या पन्ना पल्टाएर एक दुई प्याराग्राफ पढिहाल्ने चलन छ । यो अमेरिका भन्ने शब्द नै काफी छ, विशेष गरी हामी नेपाली पाठकहरुको आखा तान्नलाई । किन होला ? भन्ने प्रश्नको उत्तर मैले दिन खोजी रहेको छु । मेरो उत्तर सबैलाई मन नपर्न पनि सक्छ तर पनि कोसिस गर्नेछु ।

अमेरिका भन्ने बित्तिकै मानिसको मानसपटमा डलर भन्ने आइहाल्छ अनि त्यो एक डलर बराबर एकसय आठ रुपैया । ओहो यदि मैले एक हजार डलर कमाए भने त्यो त एक लाख भन्दा बढी पो हुन्छ । तर उसलाई थाहा छैन कि एक हजार डलर कमाउन कति समय लाग्छ । जसले काम दिन्छ उसले सेकेन्ड सेकेन्डको हिसाब गरेर काम लिन्छ । तर नेपालमा बस्ने साथीभाइ, परिवारका मान्छेहरूले कसैले पनि विश्वास गर्दैनन । भन्छन् आफू त्यहा मोज गरेर बसेको छस हामीलाई नआइज भन्छ आदी इत्यादि । अमेरिका बस्ने नेपालीहरूले आफूले पाएको दु:खको बारेमा धेरै अनलाइन पत्रिकामा छापीसकेका छन् । कसै कसैले सुख पनि पाए भनेर पनि नलेखेको हैन । अनि अमेरिका आएर केही नेपालीले आत्महत्या पनि गरेको समाचार हामीले पढेका छौ । तर अमेरिका आए पछि हामी नेपाली कस्ता हुन्छौ त ? यो अहिले सबैको मनमा उब्जेको प्रश्न छ ।

अमेरिकामा हामी नेपाली के कस्ता छौ त ?
अब अमेरिकामा बस्ने नेपालीहरूको मानसिकता कस्तो छ भन्ने विषयमा केही चर्चा गरौँ । म आँफैले भोगेको केही अनुभवहरू यहाँहरु माझ राख्दैछु । गत वर्ष बिआरटी नेपाल डटकमको चौथो वार्षिकोत्सवमा आमन्त्रण गरिएका दुई अतिथिलाई कार्यक्रममा ल्याउछु भनेर जिम्मा लिएका कोलोराडोकै एउटा नेपाली संस्थाको पदाधिकारीले कार्यक्रमको दिन ती अतिथिहरुलाई अत्यन्त गैर्ह जिम्मेवारीपूर्ण तरिकाले अन्तै पुर्याए । आफू त कार्यक्रममा सहभागी भएनन् भएनन् तर कार्यक्रममा आतिथ्यता ग्रहण गर्ने स्वीकृति दिएर कार्यक्रमको योजना बनाउने कार्यमा समेत संलग्न भएका अतिथिहरुलाई समेत कार्यक्रममा आउनबाट रोकिदिए । सोही कार्यक्रमका आमन्त्रण गरिएका र आफू कार्यक्रममा सहभागी हुने वचन दिइसकेका अर्का अतिथिलाई नेपालको कुनै एक निश्चित राजनैतिक पार्टी प्रति विशेष सद्भाव राख्ने केही महानुभावहरुको समूहले कार्यक्रममा सहभागी हुनबाट रोकिदिए । यसको कारण खोतल्दै जादा कार्यक्रममा आमन्त्रण गरिएका प्रमुख वक्ताको अर्कै नेपाली राजनैतिक पार्टीप्रति झुकाव रहेकोले भन्ने बुझियो । उहा महानुभावहरु पनि न त आँफै कार्यक्रममा सहभागी हुनुभयो न त प्लेनको टिकट समेत लिइसकेका अतिथिलाई सहभागी हुन दिनुभयो ।

निष्पक्ष पत्रकारितालाई आफ्नो मूल मन्त्र बनाएको एउटा मिडियाको निजी कार्यक्रमलाई केवल आफूसँग राजनैतिक चिन्तन नमिल्ने अरू केही सहभागीहरू पनि कार्यक्रममा रहने भन्ने थाहा पाएकै आधारमा बहिष्कार गर्नु आँफैमा दुर्भाग्यपूर्ण कदम थियो । अमेरिकामा बिस्तारै अघि बढ्दै रहेका नेपाली मिडियालाई कसरी मर्यादित बनाउने र कसरी दिगो बनाउने भन्ने विषयमा नै केन्द्रित भएको कार्यक्रमलाई राजनैतिक रङ चढाउन खोज्नु सर्वथा अनुचित थियो । यस घटनाले अमेरिकामा रहेका नेपालीहरू कसरी आफूलाई चाहिएको समयमा फाइदा लिने तर आफूले सहयोग गर्नु पर्ने ठाउँमा चाँही सधैँ उदासिन रहन्छन् भने प्रस्ट देखाउछ ।

त्यस्तै आज बिहानै अमेरिकामा डि.भी. चिट्ठा परेर आएका एकजना मित्र रामनाथ (नाम परिवर्तन गरिएको) सँग कुरा हुँदा उहा पनि अमेरिकाको भोगाइमा २,१०० डलर यहाँ आउनसाथ गुमाइसक्नु भएको रहेछ । अझ त्यस माथि १०० दिन भन्दा बढी एक पैसा नलीइ २,१०० डलर लिनेको व्यवसायमा फ्रीमा काम लगाइएको रहेछ । मैले उहालाई पैसा माग्नु भएन भन्दा मागेको मागै छु कहिले के भो कहिले के भो, भनेर उल्टै उसैलाई समस्या छ भनेर भन्ने गरेको हुनाले उनले माग्न छोडेका रहेछन् । यो घटना भएको ८ वर्ष बितो भन्दा म तीन छक्क परे । अर्को छक्क पर्ने कुरा ती २,१०० नदिने नेपाली मित्र हरीकाजी (नाम परिवर्तन गरिएको) लाई मैले राम्ररी चिनेको रहेछ । मलाई एक चोटि सुन्दा विश्वास भएन, ए हैन होला हरीकाजी त त्यस्तो हुनुहुन्न भन्दा उहा नै हो भनेर रामनाथले किटान गर्नु भयो । दश वर्षसँगै काम गरेको साथीलाई कसले बिर्शन सक्छ भनेर उल्टै मलाई प्रश्न गर्नु भयो । मैले उहाँको उत्तर दिन सकिन, म चुप लागे । आशा गरौँ मेरा मित्र रामनाथको दुई हजार एक सय डलर अर्को मित्र हरीकाजीले फिर्ता गरी दिनु हुनेछ यो लेख पढेपछी । यस्ता थुप्रै अनुभूतिहरु बिस्तारै बिस्तारै यहाँहरु समक्ष राख्ने छु ।

विकासको उत्कर्षमा रहेको देशमा आएपश्चात हामी नेपालीहरू पनि विकासको गति भन्दा अगाडी बढेका छौ । यथार्थमा हामी सबैलाई थाहा छ कि अमेरिकामा नेपाली राजनीति गरेर केही फाइदा छैन । अमेरिकामा नेपाली राजनीति गर्दाका फाइदा के छन् त ? कोही कसैसँग यसको उत्तर छैन । अमेरिकी समाजमा नव धनाढ्यहरुको बहुलतासंगै आफ्नो नेपालमा रहेको अस्तित्व खोज्ने प्रयासमा उनीहरू लागेको देखिन्छ । तर मारमा छन् त ..केवल सामान्य जीवनयापन गरेका वा भर्खर नेपालबाट आएका नेपालीहरू । उनीहरूको अमेरिकी मुलधारको राजनीतिमा प्रवेश गर्न सक्ने हैसियत वा क्षमता छैन यसर्थ उनीहरू साधारण नेपालीहरूलाई यो वा त्यो संस्थाको नाममा लामबद्द गराएर आफूलाई खादा र दोसल्ला ओढाउन व्यस्त छन् । दर्जनौ संस्था खोल्यो एउटाले अर्कोलाई सम्मान गर्ने फेरी अर्कोलाई पालै पालो । सर्वसाधारण व्यक्तिलाई रमितेको रूपमा ताली बजाउन मात्र बोलाउने ।

अमेरिकामा नेपालीहरूको हजारौँ संस्था होलान् तर अहिले सम्म यी संस्थाहरूको नेपाली समाजमा के देन रहयो त, यसलाई कसरी परिमार्जन गर्दै लैजान सकिन्छ, सामूहिक अवधारणाको नेतृत्वको विकास जस्ता कुराहरूमा कहिल्यै ध्यान दिएको सुनिएको छैन । नेपालको राजनीतिमा ठूलाठूला स्टाटस लेख्ने मसिहाहरु हामीले अमेरिकामा पाएका छौ तर उनीहरू “आफ्नो आंगको हात्ती नदेख्ने अरूको भुसुना देख्ने भने झैँ” आफ्नो व्यवहार र चरित्र नेपाली राजनैतिक ढर्राको भन्दा नराम्रो हुने तर ठुलो आदर्शको कुरा धेरैले गरेको र लेखेको देखिन्छ ।

वास्तवमै महान् प्रजातान्त्रिक मुलुकमा बसेर यसको कसरी सही प्रयोग गर्ने, यहाँ सिक्न सकिने सही कुराहरूबाट अमेरिकामा बढ्दो नेपाली समाज लगायत नेपालमा समेत कसरी सही मार्ग निर्देश गर्न सकिन्छ भनी हामी सबै कटिबद्ध भएर लाग्नु पर्ने देखिन्छ जसले हामी पहिलो पुस्तालाई मात्र नभएर अमेरिकामा हुर्कदो दोस्रो पुस्ता र नेपालले समेत फाइदा लिन सक्दछ ।

यदि तपाईँहरू अमेरिका आउनु हुन्छ भने आउनुहोस, आए पछि यो मेरो सल्लाह मान्नुहुन्छ भने आफ्नो केही सर्कलमा साथीभाइ बनाउनुस्, कसैको नाम र स्वार्थको लागि आफ्नो काम छोडेर पहिले नै स्थापित भईसकेकाहरुको लागि काध थापेर हिड्ने नगर्नुस । रमाइलो गर्ने उदेश्यले स्थानीय नेपाली कार्यक्रममा भाग लिनुस, अमेरिका आउनु पर्दा भरसक आफ्नै नजिकका नाता गोताको सहयोग लिनुहोस्, अरूको सहयोग लिंदा धेरै सोचेर लिनुस र यहाँ आएर लिने निर्णय धेरै सोचेर मात्र लिनुस, यहाँ बसेका अनुभवी होलान्, राम्रो सल्लाह पाउन सकिएला भनेर नलाग्नुस । आउने बित्तिकै तपाईंसग कसैले पैसा मागे भने सिधै इन्कार गर्नुहोस् भन्नु कि म भरखर आएको छु मलाई चाहिन्छ जति सुकै बहाना बनाए पनि नदिनुस नत्र मेरो साथी रामनाथको जस्तो नहोस्, धेरै प्रेसर हुन थालो भने कोठा खोजेर अर्कै तिर सर्नुहोस् । मर्दा पर्दा एक आपसको सहयोग आवश्यक पर्छ, कोही वास्तवमा केही कुराको खोजीमा छ र तपाईँको बुताभित्र छ भने गर्नुस हैन भने अरूको बहकावमा लागेर केही निर्णय नगर्नुस । धेरै सङ्घ-संस्था आदि भन्नु भन्दा आफ्नो घर परिवारमा समय दिनुस अनावश्यक रूपमा काम छोडेर हजारौँ सङ्घ-संस्थाको पछि नलाग्नुस । तपाईँ अहिले सम्म खुलेका नेपाली संस्थाले वास्तविक जीवनमा आवश्यक पर्ने के गरे र यो संस्थामा लाग्दा मलाई के फाइदा हुन्छ वा किन लाग्ने दश पटक स्वयलाई प्रश्न गर्नुस अनि निर्णय गर्नुस ? बरु परिवारलाई समय दिनुस् ओभर टाइम काम गर्नुस् बरु त्यसबाट पैसा आउछ । क्रमशः

(शैलेश पोखरेल अमेरिकाको कोलोराडोबाट सन्चालित अनलाइन पत्रिका बिआरटी नेपाल डट कमको कार्यकारी सम्पादक हुनुहुन्छ।)

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*