मास्कोमा अन्तर्राष्ट्रिय नयाँ वर्ष २०१६ को झिलिमिली

कृष्णप्रकाश श्रेष्ठ

रुसले यसपल्ट निकै जटिल अवस्थामा नयाँ वर्ष मनाइरहेको छ । युक्रेनसितको सम्बन्ध कटु छँदै थियो, त्यसमाथि अब सिरियामा क्रियाशील रुसी बमवर्षकउपर अप्रत्यासित प्रहार भई यानचालकको समेत नृसंश तरीकाले हत्या समेत गरिएको परिप्रेक्ष्यमा टर्कीसितको सम्बन्धमा कटुता थपिएको छ । सधैं नयाँ वर्ष मनाउन टर्की, मिश्र र यूरोपतिर जाने रुसीहरुले यस वर्ष प्रायशः स्वदैशमै रहनुपरेको छ र यूरोप र टर्कीबाटरुसमा आयात गरिने फलपूmल आदि अधिकांश कृषिजन्य वस्तुहरुमा पनि रोक लगाइएको छ । यसो हुँदाहुदै पनि नयाँ वर्षकोे उत्सव मनाउन मास्कोका केन्द्रीय सडकहरु मात्र झिलििमली पारेर सिंगारिएको नभई विभिन्न स्थानमा र सबै पार्कहरुमा विशेष सजधजका साथ नववर्ष मेला र सांस्कृतिक कार्यक्रमहरु संचालन गरिएका छन् ।

रुसमा नयाँ वर्षले हाम्रो दशैंतिहारको सम्झना गराउँछ । तिहारमा भैंm घरहरु रंगीचंगी बिजुलीबत्तीको मालाले झिलिमिली पारेर सिंगारिनुका साथै सहरका चोकहरु र ठूल्ठूला पसलहरुअगाडि समेत तलेसल्लाको बोट सिंगारेर राखिएको हुन्छ । रुसीहरु नयाँ वर्षको स्वागत–उत्सव अक्सर परिवारजनहरुका साथ घरैमा मनाउँछन् । मलाई पनि नयाँ वर्षमा तलेसल्लाको सानोतिनो बोट किनेर ल्याई बैठक कोठामा सिंगारेर राख्न निकै मन पर्छ । पहिले छोरीहरु सानै हुँदा यसरी तलेसल्ला सिंगार्नु अनिवार्य नै थियो, तर अहिले नयाँ वर्षमा आप्mनै निवासस्थानमा तलेसल्लाको बास्ना नआएको वातावरण उराठलाग्दो हुने ठान्दछु । पछिल्लो समयमा धेरै वर्षसम्म प्रयोग गर्न सकिने प्लास्टिकको तलेसल्ला सिंगार्ने चलन पनि चलेको छ, तर मलाई जिउँदो बास्नादार तलेसल्ला नै चाहिन्छ । हुन त हरेक घरमा तलेसल्लाको बोट सिंगार्नै हो भने मास्कोवासीहरुले एउटा विशाल सल्लाघारीमा उजाड पारिदिन सक्छन् भन्ने पनि विचार आउँछ । तर नर्सरीहरुले नयाँ वर्ष मनाउनका लागि स–साना सल्लाका बोटहरु तयार पारेर बेच्ने गरेका छन् । पछिल्लो समयमा त विदेशबाट समेत सल्लाका बोटहरु ल्याउर बेच्न थालिएको छ, यद्धपि ती ज्यादै महँगा हुन्छन् । पछिल्लो समयमा स्वदेशी सल्लाको मोल पनि निकै बढेको छ । पुर्वेली पात्रोअनुसार सन् २०१६ बाँदर–वर्ष मानिन्छ र बाँदरको निम्ति रुख पनि त चाहियो । रुसीहरुले यसपालि बाँदर–वर्षको स्वागतार्थ रातो लुगा लगाउनुका साथै भोजका लागि बाँदरलाई मन पर्ने खालका परिकारहरुका साथै केरा त अवश्य चाहिन्छ भन्ने सुनेकाले छोरीले मालपुवा केरा पनि किनेर ल्याएकी थिइन् । पछिल्लो समयमा रुसमा नयाँ वर्षको लागि बेचिने नयाँ भित्तेपात्रोमा पुर्वेली वर्षचक्रका जीवजन्तुहरु अंकित गर्ने पनि चलन चलेको छ ।

के पनि बताइहालौं भने रुसमा नयाँ वर्षको उत्सव दन्त्यकथाका पात्र देद मोरोज अर्थात् हिउँद बुढा र उनकी नातिनी स्नेगुरोच्का अर्थात् हिमबालाको अनुपस्थितिमा खल्लो लाग्छ । असल केटाकेटीहरुको निम्ति हिउँद बुढाले उपहार ल्याएर तलेसल्लाको बोटमुनि राखिदिन्छन् भनी स–साना केटाकेटीहरु पूर्ण विश्वास गर्दछन् र उनीहरुले १ जनवरीको बिहानै आपूmले चाहेजस्तो उपहार पनि त्यहाँ भेट्टाउँछन् । हिउँद बुढालाई क्याथोलिकहरुका सान्ता–क्लाउजसंग तुलना गर्न नसकिने होइन, तर यी दुवै पात्रमा निकै अन्तर छ । सेतो भुवादार रातो ओभरकोट लगाउने र सेतै दाह्रीजुँगा भएका हिउँद बुढा विशुद्ध रुसी किम्बदन्तीका पात्र हुन् । चौथो शताब्दीका सन्त निकोलाइ हिउँद बुढाका प्रारुप मानिन्छन् । हुन त रुसले क्रिश्चियन धर्म अपनाउनुभन्दा पहिले पनि पुर्वेली स्लाभजातिहरुका किम्बदन्तीहरुमा जाडोको आत्मास्वरुप त्रेस्कुन (कठ्याङ्ग्रो), स्तुदेनेत्स (ठण्डेसो) र मोरोज (ठिही) जस्ता पात्रहरु नभएका हेइनन्, तर प्राचीन स्लाभजातिले फसल राम्रो होस् भनी बलि समेत दिने रौं सैतै फुलेको कुरुप बूढोको रुपमा चित्रित गरिने यी पात्रहरु केटाकेटीहरुलाई तर्साउने खालका कठोर चरित्रका थिए । पिठ्यूमा उपहारको थैलो बोकी लठ्ठी टेकेर हिंड्ने हिउँद बुढा भने केटाकेटीहरुको चाहना पूरा गरिदिने अत्यन्त दयालु स्वभावका छन् । कपालमा चम्किलो मुकुटसहित हिउँभैंm निक्खर सेतो पोशाक लगाएकी ज्यादै सुन्दरी हिमबालाले हिउँद बुढाको साथ दिन्छिन् ।

हिमबाला पनि रुसी दन्त्यकताबाट आएकी पात्रा हो । प्राचीन कालमा सन्तान नभएका बूढाहरुले हिउँको नारीआकृति बनाएर हिउँको रासमाथि ठड्याउने गरेका थिए जसलाई स्नेगुरोच्का (हिमबाला) भनिन्थ्यो, तर आजकल ठिटाठिटीहरुले बनाउने यस्तो हिउँको नारी आकृतिलाई हिउँकी बुढिया भन्ने गरिन्छ । सन् १८७३ मा रुसी नाटककार अलेक्सान्द्र ओस्त्रोभ्स्कीले हिउँद र वसन्तकी छोरीको रुपमा ‘स्नेगुरोच्का’ नाटक लेखेर दन्यकथाकी यस पात्रालाई साहित्यमा स्थान दिएका थिए । यसै कारण कोस्त्रोमा अञ्चलमा पर्ने नाटककारको घर र हाल संग्रहालय रहेका शेलिकोभो गाउँ स्नेगुरोच्काको जन्मथलो मानिन्छ । अनि हिउँद बुढाको घर चाहिं भेलिकी उस्त्युग भन्ने ठाउँमा छ र त्यसै ठेगानाका रुसका केटाकेटीहरु हिउँद बूढाको नामका आप्mनो इच्छा पूरा गरिदिने अनुरोध गरेर पत्र पठाउँछन् । उनीहरुको जायज इच्छा पूरा पनि गरिन्छ ।

यहाँनेर नेपाली पाठकवृन्दलाई रुसमा नयाँ वर्षको उत्सव मनाउने परम्पराको संक्षिप्त इतिहास बताउन चाहन्छु । आजभन्दा ३१७ वर्षअघि सन् १६९९ मा रुसका महान् सम्राट पिटर प्रथमले युरोपेली चलनअनुसार १ जनवरीका दिन नयाँ वर्षको उत्सव मनाउने अध्यादेश जारी गरेका थिए र त्यसै वर्ष ३१ डिसम्बरको राति ईश्वी सन् १७०० को शुभारम्भको पूर्वसन्ध्यामा मास्कोको केन्द्र्रीय लालमैदान (रुसी भाषामा ‘क्रास्नाया प्लोश्याद’ को सठीक अर्थ ‘सुन्दरचोक’) मा उत्सवीय बडाईंका लागि पहिलो तोप प्रहार गरेर नयाँ वर्षको उत्सव सुरु भएको घोषणा गरेका थिए । यसरी रुसमा पहिलो पल्ट नयाँ वर्षको प्रतीकको रुपमा तलेसल्लाको बोट सिंगार्ने प्रथा पनि कायम भएको थियो । सन् १८१८ मा रुसी महारानी अलेक्सान्द्र प्mयोदोरोभ्नाको तत्परतामा मास्को क्रेमलिनको चोकमा र सन् १८१९ देखि चाहिं सेन्ट–पिटर्सबर्गको दर्वारचोकमा नववर्षवृक्ष सिंगारेर राख्ने व्यवस्था गरियो । हाल हरेक वर्ष मास्को अञ्चलको सल्लाघारीबाट १०० वर्ष पुरानो अति सुन्दर तलेसल्लाको बोट छानेर भव्यताका साथ ल्याई मास्को बmेमलिनभित्र विभिन्न गिर्जाघरहरुको बीचमा रहेको मूलचोकमा ठड्याइन्छ र नयाँ वर्षको लामो छुट्टीमा देशको विभिन्न भागबाट मास्को आएका किशोरकिशोरीहरुले मास्कोवासी दौंतरीहरुसंग मिलेर नाचगानसहित रमाइलो वातावरणमा त्यो तलेसल्लाको बोट सिंगार्दछन् र कैयौं दिनसम्म त्यहाँ नयाँ वर्षको उत्सव मनाइन्छ ।

स्मरणीय के पनि छ भने सन् १९०३ मा बालपत्रिका ‘माल्युत्का’ मा सामान्य शिक्षिका राइसा कुदाशेभाले रचना गरेको नववर्षवृक्षबारे कविता प्रकाशित भएको थियो र दुई वर्षपछि संगीतकार लियोनिद बेकमानले त्यसमा संगीत भरेका थिए । अद्यापि रुसी बालबालिकाहरु त्यसै कवितामा आधारित गीत गाएर झलमल्ल सिंगारिएको नववर्षवृक्षको वरिपरि घुम्दै रमाइलो गर्दछन् । उक्त नववर्षवृक्षबारे ‘जन्मिइन् तलेसल्ला यो वनैमा एकली’ बोलको गीत तल नेपालीमा प्रस्तुत गर्दछु ः

जन्मिइन् तलेसल्ला है, वनैमा एकली ।
हिउँद, ग्रीष्म हरियो सुरिलो थिइन् है !!

हिउँहुरी गाउँछ हैः ‘सुत, सल्ला, सुत न !’
ठिही ढाक्छ हिउँले है, ‘कठ््याङ्ग्रिनु पर्दैन !’

डरपोक कैलो खरायो, उफ्रन्छ सल्लामुन्तिर ।
रिसाहा ब्वाँसो आउँछ, कहिल्यै हुरुरु दौडेर ।।

हेर ! वन छ सेताम्य हिउँ चुइँचुइँ गर्दछ ।
घोडा टाप बजारेर हतारिंदै दगुर्छ ।।

ल्याउँछ तान्दै घोडाले स्लेजमाथि ज्यामी है ।
उस्ले सल्लो त्यो हाम्रो काट््यो फेदैसम्म नै ।।

सिङ्गारियो सल्लो त्यो, आयो चाड घरदैलो ।
केटाकेटीलाई ल्यायो धेरै धेरै रमाइलो ।।
(अनु. कृष्ण्प्रकाश श्रेष्ठ)

मास्को क्रेमलिनको मूलढोका रहेको स्पास्की बुर्जामा राखिएको कुरान्त भनिने रुसको मुख्य घडीले १२ पल्ट ‘टाङ, टाङ’ गर्दै रातको ठीक १२ बजे नयाँ वर्षको शुभारम्भ भएको सङ्केत दिनासाथै रुसको राष्ट्रिय धूनको गुञ्जनका साथै शाम्पियनको बोतलबाट मदिरा भरिएको काँचको प्याला जुधाएर हर्षोल्लासका साथ नववर्षको शुभकामना आदानप्रदान गरिन्छ । मैले यसपालि पनि घरैमा परिवारजनका साथ नयाँ वर्ष सन् २०१६ को स्वागत गरेको थिएँ । ३१ डिसम्बरको राती रुसका राष्ट्रपतिले देशवासीको नाममा नयाँ वर्षको सन्देश दिएपछि ठीक १२ बजे श्याम्पियनको बोतल खोलेर भ्mयालबाहिर सडकपारि खाली ठाउँमा पटका पडकाएर आतसबाजी गरिंदै थियो भने टेलिभिजनमा नयाँ वर्षको उपलक्ष्यमा रुसका प्रसिद्ध कलाकार र गायकहरुको सांस्कृतिक प्रस्तुति चलिरहेको थियो । झण्डै रातभरि जाग्राम बसेकाले नयाँ वर्षका पहिलो दिन सोफामै आराम लिइयो । छोरी मारिनाले २ जनवरीका दिन मास्कोको केन्द्रतिर झिलिमिली हेर्न जाने योजना बनएकी हुँदा मैले पनि साथ दिएँ, यद्यपि तापक्रम ऋण १५–१७ डिग्री थियो ।
सबभन्दा पहिले विजय पार्कमा बरफबाट बनाइएका मास्कोका प्रसिद्ध भवनहरु र सालिहकहरु हेर्न गयौं । साँझको झिलिमिलीमा पारदर्शी बरफबाट निर्मित क्रेमलिन, मास्को विश्वविद्यालय, सर्कसभवन, मास्कोका संस्थापक यूरी दोल्गोरुकी, हतौडा लिएको मजदूर र हँसिया लिइकी खेताल्नी तथा रुसी महाकवि अलेक्सान्द्र पुश्किनका सालिकहरु, वास्तविक विजयद्वार सडकको पारिपट्टि भए पनि बरफबाट बनाइएको त्यसको नक्कल आदि विभिन्न रङ्गमा देखा पर्ने स्फटिकका जस्ता कृतिहरुको अगिल्तिर जेर्ने र फोटो खिच्ने मानिसहरुको हुललाई पन्छाउँदै हामी पनि फोटो खिंच्नमा लत्तनि भयौं । त्यहाँ बनाइएको मञ्चमा सांस्कृतिक कार्यक्रम चलिरहेको थियो भने विभिन्न स्टलहरुमा पनि मानिसहरु झुम्मिएका र केही किनेर स्वद लिइरहेका देखिन्थे । एक ठाउँमा मास्कोको जमीनमुनि हिंड्ने रेलका स्टेशनहरुको नामअंकित स्टैंण्डहरु थिए र त्यहाँ स–साना केटाकेटीहरुलाई सानो रेलमा राखेर घुमाउँदै मेट्रोमा जस्तै ‘अर्को बिसौनी पार्क–कुल्तुरी’ आदि भन्दै सूचना दिइरहेको सुनिन्थ्यो । घुम्दै जाँदा एक ठाउँमा केटमकेटीले मात्र नभर्य उमेरदारहरुले पनि चिप्लेटी खेल्ने साधन लिएर कतै गइरहेको देखियो र हामी पनि चिप्लेटी खेल्ने ठाउँतिर लाग्यौं । रुसी भाषामा पोक्लोन्नाया गोरा (नेपालीमा ‘नतमस्तकगिरि’) भनिने अग्लो थुम्को सम्म्याएर २० वर्षअघि बनाइएको विजयपार्कको एक ठाउँमा बाँकी रहेको ढिस्कोमा बरफ जमाएर चिप्लेटी खेल्ने ठाउँ बनाइएको रहेछ । त्यहाँ चिप्लेटी खेल्नका लागि टिकट किन्ने ठाउँको लामसम्म पुगी टाढैबाट मानिसहरुले चिप्लेटी खेलेको हेरेर हामीे मेट्रो चढी मास्कोको केन्द्रतिर लाग्यौ ।
रुसी महाकवि पुश्किनको सालिक रहेको ठाउँ हुनाले पुश्किनचोक भनिने यसै ठाउँमा २० वर्षजति अघि पहिलो माक्डोनाल्ड खोलिएको थियो र हिउँदमा ३ घन्टा लाम लागेर बल्ल त्यहाँ अमेरिकी खानाको स्वाद लिन पाइएको अहिले पनि त्यहाँ पुग्दा सम्झना हुन्छ । त्यसको छेउमा रहेको त्वेस्र्की उद्यानपथ नयाँ वर्षको लागि यसपल्ट जसरी सिंगारिएको छ त्यस्तो मनोरकदृश्य मैले पहिले देखेकै थिइनँ । हामी प्रवेशद्वारमा बिजुली बत्तीद्वारा ठूल्ठूला अक्षरमा २०१६ लेखिएको रंगीविरंगी बत्तीहरुले झिलिमिलि पारेर बनाइएको सुरुङभैm लाग्ने ठाउँबाट छिरेर ओरालो परेको उद्यानपथमा पुग्यौं । त्यहाँ चराचुरुङ्गी र परीहरुको आकृति आदिले सजाइएको ठउँमा विभिन्न स्टलहरुका साथै स–साना बिजुलीबत्तीले झिलिमिली पारिएका पातबिहीन रुखहरु उभिएका थिए । सबै रुखहरु स्फटिकका वृक्षभैंm चम्किरहेका थिए र साँझको अँध्यारोमा टाढाबाट हेर्दा रुखका हाँगाहरुमा आकाशबाट ताराहरु झरेभैंm पिलपिल गर्दै झरिरहेका पग्लेको बरफका टुक्राजस्ता लाग्ने बत्तीहरुले समेत गर्दा स्वर्गकै हीराको बगैंचा हो कि भन्ने प्रतीत हुन्थ्यो । यो दृश्य निकै मनमोहक थियो ।
हामी त्यो दृश्य हेरेर गद्गद हुँदै त्यहाँबाट मास्कोको मुटुसमान लालमैदानकै बगलमा पर्ने ठेटरचोक पुग्यौं । विश्वविख्यात बल्शोइ ठेटरको अगिल्तिर फोहोराको ठाउँमा र त्यसवरिपरि रंगीचंगी विजुलीबत्तीद्वारा भव्य प्रासादको खाका चम्किरहेको देखियो । वरपरका चुम भनिने विशाल पसल। मेट्रोपोलिटेन होटल, किताइ–गोरोदको बुर्जायुक्त पर्खाल आदि र फराकिलो चोकभरि विभिन्न सुभिनियरका स्टलहरु पनि बिजुलीबत्तीको मालाले चम्किरहेका थिए । घरमा पुगेर चियासित खान भनी एउटा स्टलमा पिरोगी भनिने भित्र बन्दा, आलु, मासु आदि हालेर बनाइएको रोटीहरु किनेर केटाकेटीहरुले स्केटिङ गरिरहेको र चिप्लेटी खेलिरहेको विभिन्न रमाइलो दृश्य हेर्दै मास्को होटलअगिल्तिर मानेज्नाया प्लोश्श्याद् भनिने केन्दीय चोकमा झिलिमिली सिंगारिएको तलेसल्लाको बोट मात्र नभई त्यसलाई सिंगार्न राखिएको काँचको डल्लोजस्तै गरी १७ मिटर अग्लो गोलाकार संरचना समेत बनाइएर राखिएको थियो । त्यस रंग फेरिरहने डल्लोमा काँचमा जस्तै रुसको मानचित्रसहित विभिन्न बुट्टा परिवर्तन भइरहन्थ्यो र त्यसभित्र जान इच्छुक मानिसहरुको लाम पनि निकै लामो थियो । यस वर्ष त्यो संरचना पनि एक आकर्षक वस्तु बन्न पुगेको थियो ।
मास्को महानगरीभरि यत्रतत्र सबै ठाउँ एकै दिनमा चहारेर यस्तै अन्य रमिता हेर्नु सम्भव थिएन । घरतिर फर्कन भनी त्यहाँ नजिकैको मेट्रोभित्र पस्न खोजेको त बाहिर निस्कने मानिसहरुको भीडले गर्दा भित्र पस्न mभत्रेको अर्को बिसौनीतिर लाग्नुप¥यो । त्यसैले रुसको संसदभवनको बगलबाट एक चक्कर लगाएर माथितिर किताइ गोरोदको मूलद्वार हुँदै लुब्यान्का चोकसम्म पुग्नुपरेको थियो । त्यहाँ सन् १९९० को युगान्तकारी घटनाको समयमा स्टालिनको पालाका त्रूmर गृहमन्त्री देर्जिन्स्कीको सालिक उखेलिएको ठाउँमा अग्लो तलेसल्लाको बोट सिंगारेर ठड्याइएको थियो भने बालसंसार भनिने विशाल भवन लगायत चारैतिरका भवनहरु पनि बिजुलीबत्तीको मालाले झलमल्ल सिंगारिएका थिए । नयाँ वर्षको उत्सवका लागि सिंगारिएको मास्कोको केन्द्रको झिलिमिली हेरेको रमाइलो अनुभूतिको कुम्लो बोकी त्यही रहेको मेट्रो बिसौनीमा छिरेर आप्mनो निवासस्थानतिर लागें…
विशाल रुसको भूभाग पार गर्न नववर्षलाई ११ घन्टा लाग्दछ । सर्वप्रथम रुसको पूर्वी सीमावर्ती बेरिङ्ग खाडीको रात्मानोभो भन्ने टापुमा रहेका सीमान्तरक्षकहरुका साथै देशको पुर्वेली क्षेत्रका वासिन्दाहरु नयाँ वर्षको स्वागत गर्दछन् । तर रुसमा सधैं यसरी नयाँ वर्ष मनाउने गरिएको थिएन । उदाहरणार्थ, सन् १९१७ मा सम्पन्न भएको फेब्रुअरी क्रान्तिपछि अस्तित्वमा आएको अस्थायी सरकारले नयाँ वर्ष मनाउने अवसर नै पाएन र त्यसै वर्ष लेनिनको नेतृत्वमा अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएपछि नयाँ वर्ष मनाउने प्रथालाई ‘प्रतिक्रान्तिकारी बुर्जुवा मनोभावनाको अन्धविश्वास’ भन्ने घोषणा गरियो र त्यसको बदलामा ‘विश्वव्यापी क्रान्तिको प्रतीकको रुपमा लाल आँधीबेहरी’ भन्ने उत्सव मनाउने आदेश जारी गरियो । सन् १९३५ को डिसम्बरमा मात्र उक्त बन्देज हटाइयो र नववर्षवृक्ष सिंगारेर उत्सव मनाउन पाइने भयो र सन् १९३६ मा सोभियत सरकारले केटाकेटी र किशोर–किशोरीहरुको मनोरञ्जनको निम्ति मास्कोको केन्द्रमा रहेको भव्य कलन्नीहलमा नववर्षवृक्ष सिंगारेर उल्लासमय वातावरणमा नयाँ वर्षको उत्सवीय नाचगानको आयोजना गरेको थियो । अनि सन् १९४७ देखि नयाँ वर्षको उपलक्ष्यमा १ जनवरीका दिन सार्वजनिक बिदा दिन थालियो । स्मरणीय के पनि छ भने रुसमा सन् १९१९ सम्म पुरानो शैली अर्थात् युलियन पात्रोअनुसार नयाँ वर्ष मनाउने चलन थियो, यद्यपि अधिकांश युरोपेली देशहरुले अहिले प्रचलित ग्रिगोरियन पात्रो ग्रहण गरिसकेका थिए । त्यसैले अद्यापि रुसमा जनवरी १३–१४ तारिखका दिन अनौपचारिक रुपमा ‘पुरानो नयाँ वर्ष’ मनाउने चलन छ । मेरो लागि यो पुरानो नयाँ वर्ष यस कारण अविस्मरणीय रहेको कि ५६ वर्षअघि म त्यसै दिन मास्कोको भूमिमा पदार्पण गर्न पुगेको थिएँ । पात्रोको यसै अन्तरले गर्दा संसारभरि क्याथोलिकहरुले २५ डिसम्बरमै क्रिसमस डे मनाए तापनि रुसको प्रमुख धर्म अर्थाडक्स चर्चले चाहिं ७ जनवरीका दिन मात्र भव्यताका साथ क्रिसमस पर्व मनाउँछ । सन् १९९० देखि क्रिसमस पर्वको सन्दर्भमा ७ जनवरीका दिन पनि सार्वजनिक बिदा दिन थालियो भने हाल स्कूलहरु मात्र नभई ब्यांक र अन्य अफिसहरु पनि नयाँ वर्षको बिदामा झण्डै १०–१२ दिन बन्द हुन्छन् । रुसमा जनवरी १ तारिखका दिन नयाँ वर्षको उत्सव मनाएर १३ तारिखका दिन ‘पुरानो नयाँ वर्ष’ मनाइएपछि मात्र नयाँ वर्षको झिलीमिलीमय लामो बिदा समाप्त हुन्छ ।
अन्त्यमा मनमा खट्केको एउटा कुरा पनि व्यक्त गर्न चाहन्छु र त्यो के त भने कतिपय नेपालीहरुले ईश्वी सन्को नयाँ वर्षलाई अंग्रेजी नयाँ वर्ष ठान्ने गरेको पाएँ । यो अंग्रेजहरुको मात्र नयाँ वर्ष होइन, बरु भारतले समेत आधिकारिक रुपमा अपनाएको ग्रिगोरियन पात्रोअनुसारको नयाँ वर्ष हुनाले यसलाई अन्तर्राष्ट्रिय नयाँ वर्ष भन्नु युक्तिसंगत हुने ठान्दछु । यो नेपालको औपचारिक वर्ष नभए तापनि अन्तर्राष्ट्रिय मामिलामा नेपालले समेत उपयोग गर्दै आएको र नेपाली पञ्चाङगमा समेत स्थान पाइसकेको सम्बत्सर हो । यस ईश्बी सम्बत्को सन् २०१६ को शुभागमनको उपलक्ष्यमा देशभित्र र देशबाहिर बस्ने सम्पूर्ण नेपालीहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु !
फोटो सौजन्य : मारिना श्रेष्ठ
दिनाङ्क : ४ जनवरी २०१६ (सोमवार),
मास्को, रुस महासंघ ।

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*