विजयादशमीको उपलक्ष्यमा राष्ट्रपति , उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, कात्तिक ५    – विजयादशमीको उपलक्ष्यमा राष्ट्रपति डाक्टर रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा र  प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना सन्देश दिनुभएको छ । उहाँहरूले समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

 राष्ट्रपति यादवले दशैंको शुभकामना दिँदै प्रमुख राजनीतिक मुद्दा निरुपरण भएको अवस्थामा अब आर्थिक क्रान्तिका लागि साझा राष्ट्रिय लक्ष्यमा लग्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपतिद्वारा जारी सन्देशमा नेपालको नयाँ संविधानले देशमा लोकतन्त्रको आधारभूत मान्यता स्थापित गर्दै देशबाट सबै प्रकारका विभेद, अन्याय र शोषण अन्त्य हुने विश्वास व्यक्त गरिएको छ । सबै जातजाति र समुदायबीच आपसी भाइचारा कायम गर्न नयाँ संविधान सफल रहोस् भन्ने कामना पनि राष्ट्रपति यादवले गर्नुभएको छ ।

यसैगरी उपराष्ट्रपति झाको सन्देशमा  दशैंले नेपाली नेपालीबीचको आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने बताउनुभएको छ । उहाँले यस पर्वले सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमती, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको शुभकामना दिँदै नेपाल बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृति मुलुक भएकाले आफ्नो परम्परालाई निरन्तरता दिएर देशलाई एकतावद्ध र अखण्ड राख्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानले झण्डै ७ दशकदेखिको नागरिकको राजनीतिक र सामाजिक अधिकार प्राप्तिको चाहना र आकांक्षालाई संस्थागत गरेको बताउनुभएको छ । अब संबिधानको प्रभावकारी कार्यान्वयनसँगै नागरिकले पाएका  हक–अधिकार व्यबहारमै लागु हुँदै जाने सुनिश्चित रहेको पनि उहाँले बताउनुभएको छ । इन्धनलगायतका आपूर्ति व्यबस्था असहज हुँदा चाडपर्वमा समेत नागरिकले सास्ती बेहोर्नुपरेको तर्फ सरकार गम्भीर रहेको र आपूर्ति व्यबस्थालाई सहज बनाउन पहल थालिसकेको समेत उहाँको वक्तव्यमा उल्लेख छ ।

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*